जनकपुरधाम, असार ९ –
जनकपुरधामका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की पत्नी अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्। धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित नोचापुरमा सोमबार राति यो घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार मृतक अँसा सदा आफ्नै शयनकक्षमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। प्रारम्भिक अनुसन्धानमा यो आत्महत्याको आशंका गरिएको भए पनि घटनाको यकिन कारण पत्ता लाग्न बाँकी छ। पोष्टमार्टम रिपोर्ट नआएसम्म प्रहरीले कुनै निष्कर्ष निकाल्न सकिने अवस्था नरहेको बताएको छ।
गत माघ महिनामा अभिनास झा र अँसा सदा बीच अन्तरजातीय विवाह भएको थियो। केही महिना अघिमात्र उनीहरूले पारिवारिक विधिपूर्वक गृहप्रवेश गरेका थिए। सामाजिक सञ्जालमा दुवै जनाले एक अर्काप्रति गहिरो प्रेम र समर्पण देखाउँदै आएका थिए। तर यति चाँडै यस्तो घटनाले धेरैलाई आश्चर्यचकित बनाएको छ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले मृतकको माइती पक्ष घटनास्थलमा नपुगेका कारण शव परीक्षण प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिए। “पोष्टमार्टमका लागि आवश्यक कानुनी प्रक्रिया पूरा हुन बाँकी छ,” उनले भने।
अहिलेसम्म कुनै सुसाइड नोट फेला नपरेको प्रहरीले जनाएको छ। घटनापछि कलाकार अभिनास झा गहिरो मानसिक तनावमा रहेका छन्। उनी अहिले प्रहरीसँग स्पष्ट रूपमा कुरा गर्न सक्ने अवस्थामा छैनन्।
नोचा पोखरी नजिकैको घटनास्थलमा ठूलो संख्यामा स्थानीयवासीको भीड लागेको छ। जनकपुरधाम उपमहानगरपालिका–१२ र २० क्षेत्रका बासिन्दा यो घटनाले स्तब्ध भएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
---
थप विवरण आउँदैछ...
✍️ रिपोर्टिङ्: [madhesh Patra]
📍 जनकपुर संवाददाता
0 Comments