रौतहट सुटकेस काण्ड: भेटिएको शवको सनाखत, मृतक रुबी देवी साह

 २०८२ साल भाद्र ८ गते | अभिनन्दन मिश्र 

रौतहट – २०८२ साल भाद्र ८ गते बिहान सुटकेसभित्र भेटिएको महिलाको शवको सनाखत भएको छ। माधव नारायण नगरपालिका–६, माधोपुरकी ३० वर्षीया रुबी देवी साहको शव रहेको प्रहरीले जनाएको छ। मृतक साह सदरमुकाम गौर–२ महादेव पट्टीमा डेरा गरेर बस्दै आएकी थिइन्।

शुक्रवार साँझ ब्युटी पार्लर जान्छु भनेर घरबाट निस्किएकी रुबी साँझ ६ बजेदेखि सम्पर्कविहीन भएकी थिइन्। परिवारले फोन गर्दा फोन नलागेपछि उनीहरूले प्रहरीलाई खबर गर्न सकेका थिएनन्।

शनिवार राति करिब १० बजे सडक पेटीमा सुटकेस डोरीले बाँधिएको अवस्थामा फेला परेको थियो। आइतवार बिहान जिप्रका रौतहटको अनुसन्धान टोलीले सुटकेस खोलेपछि हत्या गरेर राखिएको शव रहेको भेटिएको हो।

मृतक रुबी रक्सा टोलका साधु शरण साहका छोरा शिव सागर साहकी श्रीमती हुन्। उनका बुबा राम विनोद साह सुडी भारतको बिहार, मुजफ्फरपुरबाट बसाइँ सरेर रौतहट आएका थिए।

सुटकेसमा शव भेटिएको हल्ला फैलिएपछि मृतककी आमा मिथिलेश देवीले शनिवार दिउँसोदेखि हराएकी छोरीको शव भएको बताएको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक रुद्र कँडेलले जानकारी दिए। कँडेलका अनुसार घटनाको अनुसन्धान भइरहेको र चाँडै नै वास्तविकता बाहिर आउनेछ।

Tags: #रौतहट, #सुटकेसकाण्ड, #NepalNews

Post a Comment

0 Comments